नियम ११
पूरक वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी व्यवस्था
(१) ऐनको दफा ११ को उपदफा (३) बमोजिम पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नको लागि सम्बन्धित निकायले अध्ययन अनुमति दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम अनुमति प्राप्त कुनै प्रस्तावको पूरक. वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा प्रस्तावकले यस नियमावली बमोजिम वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत गर्दा अपनाउनु पर्ने प्रक्रिया मध्ये क्षेत्र निर्धारण र कार्यसूची स्वीकृत गराउने प्रक्रिया बाहेक अन्य सबै प्रक्रिया प्रा गर्नु पर्नेछ ।

तर प्रस्ताव कार्यान्वयनबाट प्रभावित हुने थप क्षेत्रको हकमा उक्त क्षेत्रको सम्बन्धित स्थानीय तह बाहेक अन्य निकायको सिफारिस आवश्यक पर्ने छैन ।

(३) पूरक वातावरणीय प्रभाव मूल्याङ्कन भई पेश भएको प्रतिवेदन सम्बन्धमा सम्बन्धित निकायले राय सुझाव सङ्कलन गर्नका लागि सात दिनको अवधि तोकी राष्ट्रियस्तरको कुनै एक दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ र त्यस्तो प्रतिवेदन उतार (डाउनलोड) गर्न मिल्ने गरी सो निकायको वेब साइट मार्फत सार्वजनिक गर्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम सूचना प्रकाशन भएकोमा कुनै व्यक्ति वा संस्थाले त्यस्तो अवधिभित्र सम्बन्धित निकायमा आफ्नो राय सुझाव पठाउन सक्नेछ ।

(५) यस नियममा उल्लिखित प्रक्रिया पूरा गरी प्राप्त राय सुझाव समेतको आधारमा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब लागेमा सम्बन्धित निकायले त्यस्तो पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्नु पर्नेछ ।

(६) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक पटक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भइसकेको आयोजनामा केही: भौतिक पूर्वाधार, डिजाइन वा स्वरुप परिमार्जन गर्नु पर्ने वा संरचना स्थानान्तरण वा फेरबदल गर्नु पर्ने भए तापनि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने अवस्था नदेखिएमा वा आयोजनाको क्षमता घटेमा वा रुख कटान सङ्ख्यामा थपघट गर्नु पर्ने भएमा सम्बन्धित निकायले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा रहेको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्न स्वीकृति दिन सक्नेछ ।